नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि विभाग

हरिहरभवन, ललितपुर

कृषकको नाम : बसन्त अधिकारी

ठेगाना :वर्दहवा, बाणगंगा-९, कपिलबस्तु

ईजरायलमा ११ महिने कृषि सम्बन्धि तालिम लिएर २०७५ सालमा फर्किएका २५ वर्षिया बसन्त अधिकारी हाल आफ्नै ठाउँमा ब्यवसायिक कृषि गरिरहेका छन् । वर्दहवा, बाणगंगा-९, कपिलबस्तुमा उनी र उनीसँगै ईजरायलबाट फर्कीएका लखन थापा मगरको संगोलमा "हाम्रो बहुउद्देशीय कृषि तथा पशु पालन फार्म" रहेको छ । ईजरायलमा छँदा पोष्ट हार्भेष्ट, प्लान्ट ब्रिडिङ्ग, वाली संरक्षण जस्ता विभिन्‍न १२ वटा विधामा तालिम लिएका अधिकारी भन्छन्, प्रविधि मिलाएर गर्न जाने कृषि पेशा निकै फाइदाजनक छ । तर लगानी तथा उपयुक्त प्रविधिको कमीका कारण सिकेका सबै कुरालाई तत्काल अबलम्वन गर्न कठिनाई परिरहेको उनी बताउँछन् । तथापि, उनी कृषि पेशा मै लाग्ने र आधुनिक कृषि पद्दति अपनाउने कुरामा दृढ छन् ।

ईजरायलबाट फर्केपछि उनले नार्कमा च्याउ खेती सम्बन्धि तालिम लिए र २०७५ साल असोज देखि ५ कठ्ठा जग्गा भाडामा लिई तथा ६ कठ्ठा आफ्नै जमिनमा च्याउ खेती शुरु गरे । हाल उनले कन्ये, पिङ्की तथा मिल्की च्याउ उत्पादन गरेर बिक्री गरिरहेका छन् । ईजरायलमा छँदा व्यवसायिक योजना पनि बनाउन सिकेका अधिकारी भन्छन्, च्याउ उत्पादन गर्दा १ पोकाबाट २.५ के.जी. च्याउ उत्पादन हुन्छ र जम्मा १ के.जी. च्याउ बरावरको खर्च लाग्छ । ३ सिजन च्याउ उत्पादन गर्दा ३६ क्विन्टल च्याउ उत्पादन हुन्छ र के.जी.को लगभग रु.१४० मा विक्रि हुन्छ । यसरी, वार्षिक ५ लाखको कारोबारमा २ लाख खुद नाफा भएको उनी बताउँछन् । छोटो अवधिमै लगानी उठेकोमा उनी निकै खुशी छन् र आफ्नो फार्मलाई अझै विस्तार गर्दै लैजाने उनको योजना छ । निकट भविश्यमा १ विघा जग्गा भाडामा लिएर खुर्सानी, गोलभेडा र बन्दा लगाउने योजना गर्दैछन् । सहकारीबाट रु. २.५ लाखको ऋण तथा रु. २.५ लाखको स्व-लगानीबाट च्याउ व्यवसाय शुरु गरेका अधिकारीले रु. २.७ लाख पर्ने पराल बफाउने मेसिन ८०% सरकारी अनुदानमा पाएका छन् । अधिकारीका अनुसार, हाल च्याउ व्यवसायबाट ४ जनाले प्रत्यक्ष रोजगारी तथा ८ जनाले सिजनल रोजगारी पाइरहेका छन् । च्याउ बाहेक ३ कठ्ठामा NS1701 जातको खुर्सानी पनि खेती गरिरहेका अधिकारीले खुला क्षेत्रमै भएपनि ईजरायलमा सिकेको प्रविधि अनुरुप ड्याङ्ग बनाएर, नापेर, सुरक्षित विषादिहरुको सुरक्षित तरिकाले प्रयोग गरेर खेती गरिरहेका उनलाई सिंचाईको निकै समस्या रहेको पनि बताउँछन् ।

आत्मविश्‍वास तथा दृढ संकल्पका साथ कृषि पेशामा लागेका अधिकारी भन्छन्, शुरुमा घ्रिणीत पेशाको रुपमा हेर्ने गरेको कृषिलाई ईजरायलको ११ महिने बसाई तथा सिकाईबाट सोच परिवर्तन भयो । ईजरायल जस्तो देशले त कृषिमा यति विकास गरेको छ भने नेपालमा त झन धेरै गर्न सकिन्छ भन्‍ने सोचबाट प्रेरित भएर उनी नेपाल फर्कीए । उनका अनुसार, हाल कृषि पेशामा लाग्नको लागि सरकारी स्तरबाट पनि धेरै सहयोग मिलिरहेको छ र मासिक २०-२५ हजार कमाउनको लागि त खाडि जानु पर्दै-पर्दैन ।

Contact Info

कृषि विभाग

Hariharbhawan, Lalitpur, Nepal

Phone: 015421323, 015421648

Email: doa.agri2014@gmail.com

WEB: www.doanepal.gov.np

Site Visited

 Connect With Us

We Are Here