कृषकको नाम : नकुल प्रसाद भण्डारी
ठेगाना : नुवाकोट
३६ वर्षिया नकुल प्रसाद भण्डारी हाल पञ्चकन्या गा.पा.३, मानेथोक, नुवाकोटमा बस्छन् । वि.सं. २०६४ मा कामदार भिसामा यु.ए.ई पुगेका उनि २०७२ मा मात्र स्वदेश फर्किए। त्यहाँ रहँदा यु.ए.ई. आर्मीमा काम गरेका नकुल हाल आएर वि.सं. २०७२ सालमा वनदेवी कृषि फर्म दर्ता गरी अर्गानिक च्याउ तथा तरकारी खेती गरिरहेका छन् भने बाख्रा पालनलाई सहायक पेशाको रुपमा अगाडि बढाएका छन् । विदेशि भूमिमा स्थानिय बासिन्दाबाट हुने गरेको चित्त दुख्ने खालको व्यवहार र जति वर्ष विदेशमा बसेपनि अन्तिममा आफ्नै भूमिमा कर्म गरी आधार तयार गर्नुपर्ने वास्तविकताको ज्ञान हुनु र कृषिमा राज्यले गर्ने सहयोगको संचार माध्यमबाट गरिएको प्रचार प्रसारले गर्दा नै आफूलाई कृषि व्यवसायमा लाग्न प्रेरणा मिलेको बताए। ३ दिने च्याउ खेती सम्बन्धि तालिम लिईसकेका भण्डारीले च्याउ फलाउने विधि तथा आईपर्ने चुनौतिहरु ईन्टरनेटबाट खोजेर सिकेको पनि जानकारी गराए। यसरी उनले आफुलाई प्राविधिक रुपमा पनि सक्षम राख्ने प्रयास गरेका छन् ।
हाल नेपालमा बढ्दै गएको चरम विषादिको प्रयोगले आम उपभोक्ताको स्वास्थ्यमा नकरात्मक प्रभाव परेको र कृषक आफै पनि विषादीसँग खेल्दा स्वास्थ्य विग्रिदै जाने कुरालाई मध्य नजर गर्दै विदेशबाट फर्किएर अर्गानिक सिताके च्याउ खेती सुरु गरेको उनको भनाई रहेको छ ।
१० रोपनि ६ आना आफ्नै जग्गाको साथै ४२ रोपनि थप जग्गा भाडामा लिएर १५ लाख आफ्नै र ३५ लाख (७.२% व्याजमा) बैङ्कबाट ऋण लिई करिब ५० लाख भन्दा बढिको लगानी रहेको यस व्यवसायमा उनीले कृषि ज्ञान केन्द्र, नुवाकोटकबाट तरकारी टनेल निर्माणको लागि ६ लाख अनुदान स्वरुप हात पार्न सफल भए । अर्गानिक सिताके च्याउ १५ क्विनटल, तरकारी तथा बाख्रा उत्पादन गर्ने यस व्यवसायबाट नकुलले १२ लाख बराबरको बार्षिक कारोबार हुनुको साथै ७ लाख बराबरको खुद नाफा हुने गरेको र आफ्नो उत्पादनले नुवकोटको स्थानिय वजार र काठमाण्डौको वजारमा ठाउँ लिने गरेको बताए । यसरी अरु कृषक दाजुभाइ दिदिबहिनिहरुका लागि प्रेरणाको श्रोत बन्न सफल भण्डारीले 2 जना पारिवारिक सदस्य संलग्न यस व्यवसायबाट 6 जनालाई रोजगारीको अवसर पनि प्रदान गरेका छन् । सिताके च्याउ कार्तिक देखि माघ फाल्गुन ( १२ डिग्री देखि २० डिग्री सम्म) सम्म मात्र फल्ने हुनाले अरु समय खेरा गईरहेको महसुस गरी बाँकी समयमा अर्गानिक तरकारी खेती गर्ने उद्देश्यले बेमौसमि अर्गानिक तरकारी खेतीको लागि करिव ६ रोपनि क्षेत्रफलमा पक्की फलामे टनेल निर्माण कार्य भईरहेको, मलको व्यवस्थापनको लागि ७०-७५ वटा माउ बाख्रा पालनको लागि खोर निर्माण कार्य तथा आवश्यक पोषिलो घाँस लगाउने कार्य भैरहेको र सम्पन्न हुने अन्तिम चरणमा रहेको पनि उनले जानकारी गराए ।
विचौलियाहरुको समस्या, बजार व्यवस्थापन, गुणस्तरिय च्याउको बीउ, तालिम तथा उत्पादनको आधारमा अनुदानको आवश्यकता जस्ता अति नै महत्वपूर्ण समस्या तथा आवश्यकता पहिचान गरेका उनले वि.सं. २०७२ सालमा च्याउ खेती सुरु गर्दा भने फल्दैनकी भन्ने ठूलो डर रहेको र उत्पादन भएपछि पनि बजारमा पुर्याउँदा जंगली च्याउ भनेर उपभोक्तालाई यसको विशेषता र फाईदा बारेमा बुझाएर विक्री गर्न धेरै नै कठीन भएको तर आजभोलि भने उत्पादनले बजार धान्न नसकिरहेको अवस्था प्रष्ट पारे ।