कृषकको नाम : मिना कुमारी गुरुङ्ग

ठेगाना :झिझिर्का, पोखरा-२५, कास्की

जीवनको १६ वर्ष विदेशमा विताएकी ५३ वर्षिया मीना कुमारी गुरुङ्ग हाल झिझिर्का, पोखरा-२५, कास्कीको १४०० मिटर उचाईमा माया ईको भिलेज एकिकृत कृषि फार्म संचालन गरेर बसेकी छन्। ६ वर्ष जापान बसाई र विभिन्‍न समयमा हङ्‍कङ, ब्रुनाई, अमेरिका तथा बेलायत बसेको अनुभव उनको छ । विदेश बस्दा सबै कुरा राम्रो भएपनि नेपाली भनेर हेपीईनुपर्दा साह्रै पिडा भएको र आफ्नै देशमा केही गर्न सकिएन भन्‍ने पिडाले उनलाई सधै सताइरह्यो । आफूमा के क्षमता छ भन्‍ने जान्‍न, विदेश गएपछि मान्छे विदेशमै हराउँछन् भन्‍ने भ्रम चिर्न र आफ्नो कृषि प्रतिको लगावलाई पूर्णता दिन यो काम शुरु गरेको उनी बताउँछिन् ।

राष्ट्रिय कृषक महासंघको पूर्व अध्यक्ष तथा प्राङ्गारिक कृषि उद्यमी समूहकी अध्यक्ष पनि रहेकी गुरुङ्गले जापानमा छँदा कृषि सम्बन्धि ज्ञान हाँसिल गरेकी थिइन् । त्यस्तै भारतको गाजियाबादमा कृषि सम्बन्धि तालिम लिएकी गुरुङ्गलाई हाल विभिन्न संघ-संस्थाहरुले तालिम दिन समेत बोलाउँछन् । वि.सं. २०६७ साल देखि तरकारी खेती शुरु गरेपनि उनले वि.सं. २०७२ सालमा मात्रै आफ्नो फार्म दर्ता गरेकी थिइन् । हाल उनले २२ रोपनी जग्गा आफैले खरिद गरि सिताके च्याउ, काउली, बन्दा, लहरे तरकारी, भेडे खुर्सानी लगायतका उपजहरुको खेती गरिरहेकी छिन् भने भर्मीकम्पोष्ट उत्पादन तथा विक्री पनि गरिरहेकी छिन् । उनको उत्पादन पोखरा मै खपत हुने गरेको छ । आफू र आफ्ना दुई छोराहरुको परिवार पनि यसै पेशामा लागेको र थप ७ जनालाई आंशिक रोजगारी पनि दिईरहेकी गुरुङ्ग आफ्नो काम प्रति निकै सन्तुष्ट छिन् ।

कूल ३५ लाखको लगानी मध्ये बैँकबाट लिएको २० लाख ऋण पनि तिरिसकेकी गुरुङ्गले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाबाट ७० हजारको हेलनेट अनुदानमा पाएकी थिईन् । आफ्नै जग्गामा खेती गर्नु भन्दा अघि २५ रोपनी जग्गा भाडामा लिएर ३४ वटा टनेलमा प्राङ्गारिक खेती गरिरहेको, जसमा वार्षिक २७ लाखको कारोवार र ९ लाखको नाफा हुने गरेको उनी बताउँछिन् । हाल भने लगानीको स्थिति रहेको र प्रतिफल आइनसकेको अवस्था छ ।

उनीले आधुनिक तथा प्राङ्गारिक खेती बारे पत्र-पत्रिका तथा अन्य माध्ययमबाट स्वअध्ययन गर्ने गरेको तथा आफ्नो फिल्डमा पनि परिक्षण गर्ने गरेको कुरा बताउँछिन् । एक जना कृषकले अर्को कृषकसँगको अनुभव साटासाटले धेरै ज्ञान हाँसिल हुने पनि उनको धारणा छ । उनी भन्छिन्, माटोको उर्वरा शक्ति राम्रो भए खेती पनि राम्रो हुन सक्छ र प्राङ्गारिक खेती गर्दा पर्यावरणलाई आधार बनाएर पशुपालनलाई पनि सँगसँगै लैजानु पर्छ ।

उनले प्राङ्गारिक खेती गर्दा बजार मूल्यमा अन्य उपजहरुसँग प्रतिस्पर्धा गर्नुपर्ने समस्या भोग्नु परेको र प्राङ्गारिक प्रमाणिकरणको लागि सरकारी स्तरबाट नै कृषकहरुको हित हुने किसिमको दह्रिलो नीति नियम बनाईनुपर्ने तथा हचुवाको भरमा अनुदान वितरण गर्न नहुने कुरामा जोड दिईन् ।

सम्पर्क विवरण

कृषि विभाग

हरिहरभवन, ललितपुर, नेपाल

सम्पर्क नं. : +९७७-१-५५२१३५६, ५५२४२२९, ५५२४२२६

अडियो सूचना : १६१८-०१-५५२१३५६

ईमेल: info@doanepal.gov.np
doa.agri2014@gmail.com

वेव : www.doanepal.gov.np

वेवसाइट हेरिएको

हाम्रो नक्सा

   फेसबुक

Department of Nepal's Office