Farmer's Name: Ishwor Poudel
Address:Bishnupool,Tilittoma-3,Rupandehi
डिभर्ना, सन्धिखर्क-५, अर्घाखाँची गृह जिल्ला भई, हाल विश्णुपुल, तिलोत्तमा-३, रुपन्देहीमा बसोवास तथा व्यवसाय गर्दै आएका ईश्वर पौडेल ८ वर्ष ओमान बसी २ वर्ष अगाडी नेपाल फर्के । उनले ओमानमा होटल सम्बन्धि काम गर्ने क्रममा हाइड्रोपोनिक्स तथा माटो बिना खेती गर्ने आधुनिक प्रविधिको बारेमा जानकारी पाएको र नेपालमा गएर पनि यस्तै प्रविधिहरु अपनाएर खेती गर्ने प्रेरणा मिलेको बताएका छन् । आफू विदेश छँदा विभिन्न कृषि सम्बन्धि प्रविधिहरु देखिरहेको र नेपाल फर्केर आएपछि परम्परागत तरीकाले खेती गर्दा निकै धेरै जनशक्ति तथा खर्च लाग्ने देखेर नेपालको हावापानी सुहाउँदो खेती प्रविधिको खोज गर्ने निधो गरे । यसै अनुरुप, नेपाल फर्केर आएपछी उनले भारतको हरियाणा प्रान्तको करनाल जिल्लाको घरौंडामा Centre of excellence for vegetables under Indo-Israel project अन्तर्गत ४ दिने तालिम लिएर आए । साथै, ईन्टरनेटमा पनि Protected Horticulture सम्बन्धि धेरै खोज गरे । फलस्वरुप २०७४ साल कार्तिक २० गते पारिवारिक लगानी तथा ऋणबाट उनले रुपन्देहीमा लुम्बिनी हाइड्रोपोनिक्स फार्मको स्थापना गरे ।
जम्मा रु. १ करोड १२ लाखको लगानी रहेको उक्त फार्मको स्थापनाको लागि उनले बैंकबाट ५% ब्याज दरमा रु. ६० लाखको ऋण, स्व-लगानी रु. ५० लाख तथा रु. २.२५ लाखको सरकारी अनुदान प्राप्त गरेका छन् । फार्मको संरचना तयारी गर्नको लागि हिमालयन हाईड्रोपोनिक्सले सहयोग गरेको तथा भारतबाट सामान मगाएको उनी बताउँछन् । निष्चित बालीहरु मात्र लगाउने र त्यसको बजारिकरण गर्ने गरेको उनी बताउँछन् । भाडामा लिएको १ विघा जग्गामा उनले ४०० मिटर स्क्वायरको दुई वटा र २०० मिटर स्क्वायरको एउटा ग्रीन हाउस संरचना निर्माण गरेका छन्, जसमा थोपा सिंचाई पद्दति अपनाएका छन् र झोल मल प्रयोग गरेका छन् । उनले गोलभेडा, रातो/पहेलो/ हरियो रङ्गको भेडे खुर्सानी, काँक्रो, लेट्युस् तथा जडिबुटीहरुको खेती गर्ने गरेका छन् । स्थानिय हाटेलहरु तथा बजारहरुले आफै आएर आफ्नो उत्पादन लग्ने भएकोले बजारिकरणको केही समस्या नरहेको र मूल्य पनि सन्तोषजनक नै रहेको उनी बताउँछन् । आफ्नो व्यवसायलाई अझ विस्तार गर्दै लैजाने उनको सोच छ । ५ जनालाई प्रत्यक्ष रोजगारी दिइरहेका पौडेल भन्छन् यसरी खेती गर्दा २० देखि २५% खुद नाफा हुने गरेको छ । सरकारी स्तरबाट सहज तथा कानुनी रुपमा झोल मल (Liquid Fertilizer), आधुनिक प्रविधि अपनाउँदा आवश्यक संरचना, गुणस्तरिय बीउ उपलब्ध गराउन सके उनी जस्ता कृषकहरुलाई धेरै राहत हुने कुरा उनी गर्छन् । विदेशमा भएको युवाहरुले विदेशमा सिकेका प्रविधिहरु नेपालमा भित्र्याएर, स्वदेशमै पनि धेरै राम्रो काम गर्न सक्छन् र यो आधुनिक खेतीबाट हामी सबै मिलेर काम गरौं, यहाँ पनि धेरै सम्भाव्यता छ भन्ने सन्देश दिन चाहन्छन् ।