Farmer's Name: Tek Bahadur Ghimire
Address:Nawalparasi(Now Kathmandu)
विदेश जानु अघिदेखि नै नवलपरासीको देवचुली -५ मा रहि खेतीपातीको काम गर्दै आएका 40 वर्षिया टेक बहादुर घिमिरे केहि समय पछि जागिरको सिलसिलामा काठमाण्डौमा आएका थिए ।जागिरबाट पनि खासै सन्तुष्टी लिन नसकेका उनले त्यसपछि भने धेरै रुपिया पैसा कमाउने आशा बोकेर विदेशिन पुगे। परिवारबाट टाढा रहेर विदेशमा गरेको परिश्रम र पसिनाको पनि उचित मूल्य पाउन नसकेको तथा कम्पनी म्यानेजरको तुच्छ व्यवहार देख्दा स्वदेशमा नै आफ्नो परिवरसँगै बसेर केही गर्न सकिएला भन्ने विचार गरी ३ वर्ष पछि र्पूनः स्वदेशमा नै फर्किए । तर विदेशबाट फर्किदाको १०-१५ लाख हातमा रहेको पैसा लिएर साथीहरुको लहैलहैमा लागेर म्यान पावर एजेन्सि खोली व्यवसाय त सुरु गरे तर सफल हुन सकेनन् । यसरी विभिन्न ठाँउमा ठक्कर खाँदै जाँदा पहिला पनि खेतीपाती नै गर्ने गरेको हूँदा कृषि व्यवसाय गरेर नै अघि बढ्न सके राम्रो होला भन्ने लागेर काठमाण्डौमा हावापानी तथा वातावरण हेर्दा टमाटर खेती नै राम्रो हुने देखेर पूनः वि.सं. २०७० सालमा व्यवसायिक टमाटर खेती सुरु गरे ।
विदेशमा वेकरीमा काम गर्दा स्विजरल्यण्डबाट फर्सिको वियाँ टनका टन आएको, अमेरिकाबाट स्याउ, फिलिपिन्सबाट केरा, पाकिस्तानबाट चामल, ईन्डोनेसियाबाट मैदाको पिठो जस्ता वस्तु निकासि भएको तर नेपालबाट भने खासै निकासि नभएको देख्दा हामी पनि उत्पादनमा जोड दिनुपर्छ भन्ने लाग्ने गरेको उनी बताउँछन् ।
एक सफल कृषि व्यवसायी हुन आफूमा केही गर्छु भन्ने भावना जाग्रीत हुन जरुरी रहेको, समय र वजार व्यवस्थापनमा विशेष ख्याल गर्नपर्छ भन्ने कुरा बताउने उनले भने – "आफूले पहिले जग्गा भाडामा लिएर कृषि व्यवसाय गर्छु भन्दा दाजुभाइ, आमा लगायल ईष्टमित्रले खेति गर्नपनि ७-८ लाख लगानि गर्छन गर्नुहुँदैन, लगाएर फल्छ कि फल्दैन, फेरी अर्काको जमिनमा यत्रो खर्च गरेर के गर्ने भनेर गाली समेत गरे। पछि भने व्यवसायिक टमाटर खेती राम्रो हुँदै गएको देख्दा सबैमा सकरात्मक प्रभाव पर्यो । छरछिमेकका मानिसहरुले हेर्ने दृष्टिकोणमा पनि परिवर्तन महसुस भयो । आफ्नो परिश्रम र मेहनतले गर्दा अरुले स्वदेशि उत्पादन उपभोग गर्न पाएकोमा आफुलाई गर्व लाग्ने गरेको र सरकारको तवरबाट सहयोग पाउन सके आफूले वेमौसमि टमाटर खेतीमा धेरै राम्रो गर्न सकिन्थ्यो।"
जे.टी.ए. तालिम समेत लिईसकेका घिमिरेले हाल बु.न.पा.८, सुन्दरबस्ती काठमाण्डौमा ३ रोपनि जग्गा भाडामा लिएर टमाटर, काउली तथा अन्य तरकारी खेती गर्दै आएको बताए । बार्षिक १३ टन भन्दा बढिको टमाटर तथा तरकारी उत्पादन गरी यस व्यवसायबाट करिव ७ लाख जतिको बार्षिक कारोबार तथा ४ लाख खुद नाफा हुने पनि उनले जानकारी दिए ।
वैदेशिक रोजगारमा जान लागेका युवाहरुलाई अरवको खाडीमा गई आफ्नो स्वाधिनता विक्री गरी रगत र पसिना बगाएर ३०-३५ हजार कमाउनु भन्दा यहि नेपालमा साथीभाई मिलि व्यवसायिक खेती सुरु गर्दा र्विदेशमा कमाउने पैसा यहि परिवारसँगै वसेर कमाउन सकिन्छ भन्ने सोच सवैले राखौँ भन्दै युवाहरुलाई आग्रह गरेका छन् । यसरी आज देशले खरबौको खाद्यान्न आयात गरिरहेको अवस्थामा हामी युवाहरु सरकारको कुरा काट्न भन्दा आफ्नो सिपलाई व्यवसायिक ढंगबाट अगाडी बढाएको खण्डमा रुपिया पैसा कमाउन पनि सकिने र अरु युवाहरुलाई रोजगारी प्रदान गर्न पनि सकिने कुरा उनले बताए ।
उनका अनुसार देशमा कृषि विकासको लागि राज्यले निम्न कार्यहरुमा पहल गर्नु पर्ने धारणा राखेका छन् "पहिले माटोलाई उर्वर बनाउने, प्राङ्गारिक मलको प्रयोग गर्ने र ठाँउ विषेश खेति गर्ने , चक्ला बन्दि गर्ने, भू-क्षय हुनबाट जोगाउने, कृषि प्राविधिक र उचित मात्रमा गुणस्तर मल बीउको व्यवस्था गर्ने, कृषि तथा पशुपंछि विमाको व्यवस्था गर्ने, उत्पादन भएको कृषि उपजहरु सरकारले खरिद गर्ने र यहाँ बढि भएको उत्पादन निर्यात गर्ने ।त्यसको लागि ठूल्ठुला चिस्यान घर निर्माण गर्ने । सरकारले युवाहरुलाई आकर्षित गर्न तालिम, सहुलियत ऋर्ण, सहुलियत दरमा जग्गा भाडामा उपलब्ध गराउनु पर्ने, उत्पादन गरेको वस्तुको वैज्ञानिक मूल्य ग्यारेन्टी, कृषकका छोराछोरीलाई शिक्षा, स्वास्थ्यको ग्यारेन्टी, राष्ट्र प्रेम र माटोलाई माया गर्नुपर्छ भन्ने धारणा सबैमा जाग्रित गराई युवाहरुलाई प्रोत्सहान गर्नुपर्छ ।"